नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ ।
हाम्रो छोरीको सुनौलो भविष्य कार्यक्रममार्फत चालू आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो ।
हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्मदर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद पाँच हजार जम्मा गरिदिने गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
‘चालु आवको फागुन मसान्तसम्म जन्मिएका ३६ जना छोरीहरुको बैंक खातामा पाँच हजारका दरले एक लाख ८० हजार रकम गाउँपालिकाले निकासा गरेको छ’, उनले भनिन्, ‘छोरीको बैंखक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।’
‘हाम्रो छोरीको सुनौलो भविष्य कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् । ‘छोरीकै नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैंक खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भनिन् ।
हुप्सेकोट गाउँपालिकाले आव २०७७÷७८ देखि हाम्रो छोरीको सुनौलो भविष्य कार्यक्रम सुरु गरेको हो । हाम्रो छोरीको सुनौलो भविष्य कार्यक्रम सञ्चालन गरिएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्यचौकी आएर गर्व परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्मदर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकास भएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए ।







