काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अनियमितताको आरोपमा अध्यक्षसहित चार जना पक्राउ परेका छन्। सहकारीका जिम्मेवार पदाधिकारीहरूले बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना गरेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानका अनुसार सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो। तर त्यसमध्ये करिब डेढ अर्ब रुपैयाँ मात्रै ऋण तथा लगानीका रूपमा प्रवाह गरिएको देखिएको छ। बाँकी ठूलो रकमको स्पष्ट विवरण नपाइएकोले हिनामिनाको आशंका गरिएको हो।अनुसन्धानका क्रममा प्रवाह गरिएको ऋणसमेत कमजोर धितो वा बिना धितो दिइएको खुल्न आएको छ, जसले आर्थिक अनियमितताको सम्भावनालाई थप बल दिएको छ।

ADVERTISEMENT

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। प्रहरी स्रोतका अनुसार घटनाको विस्तृत छानबिन जारी रहेको छ र थप संलग्न व्यक्तिहरूको खोजी पनि भइरहेको छ।