काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले नेपालका लागि जारी यात्रा चेतावनी स्तर घटाएर ‘लेभल–२ (Exercise Increased Caution)’ मा झारेको छ। यससँगै नेपालमा हाल सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको भए पनि नागरिक अशान्ति र आकस्मिक प्रदर्शनको जोखिम अझै कायम रहेको जनाइएको छ।
अमेरिकी पक्षले सार्वजनिक गरेको अद्यावधिक सल्लाहमा सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका राष्ट्रव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको उल्लेख छ। तर, राजधानी काठमाडौंसहित विभिन्न शहरहरूमा कहिलेकाहीँ स्थानीय प्रदर्शन र असन्तुष्टि देखिन सक्ने भएकाले यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
यस्ता प्रदर्शनहरू पूर्वसूचना बिना नै सुरु हुन सक्ने र केही अवस्थामा हिंसात्मक रूप लिन सक्ने भएकाले भीडभाड र प्रदर्शनस्थलबाट टाढा रहन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ।
स्वास्थ्य सेवा र आपतकालीन अवस्था
नेपालको स्वास्थ्य सेवाको अवस्था सीमित रहेको उल्लेख गरिएको छ। विशेषगरी आपतकालीन सेवा र नियमित उपचार दुवैमा अस्पतालहरूको क्षमता सीमित हुन सक्ने जनाइएको छ। काठमाडौंका अस्पताल अन्य क्षेत्रभन्दा राम्रो भए पनि भीडभाड, औषधि तथा उपकरणको अभाव जस्ता समस्या देखिन सक्ने उल्लेख छ।
विदेशी नागरिकले उपचार खर्च आफैं बेहोर्नुपर्ने भएकाले यात्रा अघि पर्याप्त स्वास्थ्य बीमा (इन्स्योरेन्स) गर्न र आवश्यक औषधि साथमै ल्याउन सुझाइएको छ। गम्भीर बिरामी परेमा अन्य देशमा उपचारका लागि जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।
प्राकृतिक विपद्को जोखिम कायम
नेपालमा भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम उच्च रहेको भन्दै यात्रुहरूलाई सचेत रहन भनिएको छ। विशेषगरी मनसुन (जुन–सेप्टेम्बर) समयमा भारी वर्षाका कारण सडक अवरुद्ध, संरचनामा क्षति र उद्धारमा कठिनाइ हुन सक्ने उल्लेख गरिएको छ।
यात्रुका लागि सुझाव
नेपाल भ्रमण गर्ने निर्णय गरेमा अमेरिकी दूतावाससँग सम्पर्कमा रहन ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम (STEP)’ मा दर्ता गर्न, स्थानीय सञ्चारमाध्यमबाट नियमित सूचना लिन र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न सुझाव दिइएको छ। साथै, यात्रा अघि बीमा, स्वास्थ्य सुरक्षा र आपतकालीन तयारीमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।