काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट विगतको भन्दा फरक ढंगले ल्याइने बताएका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

भेटमा अर्थमन्त्री वाग्लेले वर्तमान सरकार बलियो जनसमर्थनसहित गठन भएको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार देशको आर्थिक उन्नतिका लागि अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “देशमा राजनीतिक स्थिरता कायम भएको छ, अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने समय आएको छ,” उनले भने, “यसपटकको बजेटले केही नयाँ र फरक सन्देश दिनेछ।”

ADVERTISEMENT

उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि बढाएको बताए। तर उदारताको नाममा अनियमितता वा छाडापन सह्य नहुने स्पष्ट पार्दै आवश्यक नियमनलाई कडाइका साथ लागू गरिने पनि उल्लेख गरे।

ADVERTISEMENT

अर्थमन्त्रीका अनुसार निजी क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको छ। सरकार गठन भएको प्रारम्भिक चरणमै १५ वटा कानुन खारेज गरेर निजी क्षेत्रप्रति सकारात्मक सन्देश दिइसकेको उनले बताए।

“सरकार निजी क्षेत्रप्रति सहयोगी र उदार छ भन्ने सन्देश स्पष्ट रूपमा गएको छ,” उनले भने, “तर उदारताको अर्थ नियमविहीनता होइन, आवश्यक नियमन भने अवश्य हुन्छ।”

ADVERTISEMENT

उनले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै त्यसमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, लगानीमैत्री वातावरण निर्माण गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थमन्त्री वाग्लेले नमूना औद्योगिक पार्क विकास गर्ने योजना पनि अघि सारे। त्यसका लागि बहुराष्ट्रिय कम्पनी वा ठूला लगानीकर्तालाई नेपालमा ल्याउन निजी क्षेत्रलाई पहल गर्न आग्रह गर्दै सरकारले सबै प्रकारको सहजीकरण गर्ने बताए।

“स्वदेशी तथा विदेशी लगानीको सुरक्षा गर्ने दायित्व सरकारको हो,” उनले भने, “तपाईंहरू लगानी गर्न उत्साहित हुनुस्, हामी आवश्यक सबै सहयोग गर्न तयार छौं।”

भेटवार्तामा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि लगानी वातावरण सुधार, नीतिगत स्थिरता र उद्योगमैत्री बजेटको अपेक्षा राखेका थिए।

सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ।