काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोप लाग्दै आएको थियो। सो घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीमाथि कारबाही सिफारिस गरेको थियो।

आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्। सोही प्रकरणमा रिजाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी बन्नुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। सो अवधिमा कर्मचारी सरुवा र नियुक्तिमा अनियमितता गरेको आरोप उनीमाथि लागेको छ। विशेषगरी अध्यागमन तथा अन्य आकर्षक कार्यालयमा कर्मचारी पठाउने क्रममा पेशागत आचरण विपरीत काम गरेको आरोप लगाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ। विशेष अदालतमा पेश गरिएको विवरणमा उनीमाथि विभिन्न अनियमित गतिविधिमा संलग्नता रहेको उल्लेख गरिएको छ।

यस प्रकरणमा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसँग सम्बन्धित गतिविधिहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।प्रहरीले रिजालविरुद्धका आरोपबारे थप प्रमाण संकलन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।