काठमाडौं । एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी ओली पक्राउको विरोधमा आज पनि माइतीघरमा विरोध प्रदर्शनमा उत्रिन कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

विरोध प्रदर्शन सोमबार दिउँसो १ बजेबाट सुरु हुनेछ । विरोधलाई सशक्त बनाउन उनले पार्टी पंक्तिलाई अनुरोध गरेका छन् । प्रहरीले आइतबारदेखि बस्नेतलाई पक्राउ गर्न खोजेको भन्दै चर्चा चलेको थियो ।

ADVERTISEMENT

शोभा पाठकले आफूमाथि बलात्कार गरेको भन्दै बस्नेतलाई पक्राउ गरी मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएकी थिइन् । तर दुवै कार्यालयले पाठकको निवेदन लिन अस्वीकार गरेर घर पठाइदिएको थियो ।

ADVERTISEMENT

बस्नेतले कुनै एक व्यक्तिलाई प्रयोग गरेर आफूलाई पक्राउ गर्ने र एमाले अध्यक्ष ओलीको रिहाइका लागि भइरहेको आन्दोलन कमजोर बनाउने खेलमा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ लागेको आरोप लगाएका थिए ।

बस्नेतले सोमबार फेसबुकमा लेखेका छन्- ‘आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा एमाले अध्यक्ष केपी ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा एमाले राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ। आन्दोलनको मोर्चामा भेट हुनेछ।’

ADVERTISEMENT