काठमाडौं। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई सुरक्षा कारण देखाउँदै नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको छ। पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो निर्णयतर्फ तयारी अघि बढाएको स्रोतले जनाएको छ।

कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको थियो। उक्त पक्राउपछि देशको राजनीतिक माहोल एकाएक तातेको छ।

ADVERTISEMENT

विशेषगरी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू उक्त कदमप्रति आक्रोशित देखिएका छन्। राजधानी काठमाडौंका विभिन्न स्थानमा दिनभर प्रदर्शन भएका थिए भने कतिपय स्थानमा स्थिति तनावग्रस्त समेत बनेको थियो।

यही परिस्थितिलाई ध्यानमा राख्दै कार्कीको सुरक्षामा विशेष सतर्कता अपनाइएको छ। स्रोतका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि उनलाई सुरक्षित स्थान अर्थात् नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको हो।

ADVERTISEMENT

यसका साथै, कार्कीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा पनि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरी तथा अन्य सुरक्षा निकायले चौबीसै घण्टा निगरानी बढाएका छन्।

सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको जनाएको छ।