ललितपुर। फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलनकर्ताको सम्मानमा क्रियसन नेपालले ललितपुरमा भव्य साइकल यात्रा आयोजना गरेको छ। विश्व पुनःचक्रण दिवस २०२६ को अवसर पारेर युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

बुधबार बिहान ७ बजे ललितपुरको शंखमुलबाट सुरु भएको साइकल यात्रा बागमती करिडोर हुँदै बल्खु पुल, धोबीघाट, एकान्तकुना, जावलाखेल, पुल्चोक र कुपण्डोल परिक्रमा गर्दै पुनः शंखमुलमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा करिब ४ सयभन्दा बढीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन अवसरमा बोल्दै क्रियसन नेपालकी अध्यक्ष अरुणा कार्कीले वातावरण संरक्षण तथा पृथ्वीको सुरक्षामा निस्वार्थ योगदान पुर्‍याउँदै आएका फोहोर संकलनकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको बताइन । उनले समाजमा अक्सर ओझेलमा पर्ने यस्ता श्रमिकहरूको योगदानलाई उजागर गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरिन ।

ADVERTISEMENT

क्रियसन नेपालकी महासचिव रोशना सुवेदीका अनुसार, कार्यक्रम फोहोर व्यवस्थापन, पुनःप्रयोग तथा चक्रिय अर्थतन्त्रको प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको हो। “फोहोर होइन अवसर सोचौं” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई सम्भावनाको स्रोतका रूपमा लिनुपर्ने सन्देश प्रवाह गरिएको उनले बताइन ।

कार्यक्रम निर्देशक सुजाता कोइरालाले पुनःचक्रण व्यवसाय, हरित रोजगारी तथा दिगो विकास प्रवर्द्धनमा जोड दिँदै यस किसिमका अभियानले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन। उनका अनुसार, साइकल यात्रामार्फत फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको हो।

काठमाडौं उपत्यकाका करिब २ सय फोहोर संकलनकर्ताको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रममा पुनःचक्रण उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो। साथै, विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई नवप्रवर्तन र दिगो अभ्यासबारे जानकारी गराएको थियो।

नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार, ठोस फोहोर व्यवस्थापन ऐन २०११ तथा राष्ट्रिय वातावरण नीति २०१९ सँग समेत सम्बन्धित यस अभियानले फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा साझेदारका रूपमा रेस्टलेस डेभलपमेन्ट र यूथ इनोभेसन ल्याबको समेत सहभागिता रहेको थियो।