खोटाङ। खोटाङको केपिलासगढी–२, खार्तम्छास्थित बालाबेँसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको छ। काठमाडौँबाट पाँच यात्रु लिएर आएको हेलिकप्टर दिउँसो १२ बजेर २ मिनेटमा अवतरणको क्रममा भित्तामा ठोक्किँदा चालकसहित छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार, घाइतेमध्ये ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राईको दाहिने खुट्टा र आँखामा चोट लागेको छ। उनी र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै अर्को हेलिकप्टरबाट १२ः३५ बजे उपचारका लागि काठमाडौँ पठाइएको छ।

ADVERTISEMENT

घटनामा सवार अन्य यात्रुमा बालाबेँसी निवासी ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई र आफन्त ४० वर्षीया समला राई रहेका थिए। उनीहरू सबै सकुशल छन्। दुर्घटनामा परेका काजीबहादुरलाई हेलिकप्टरले थिचिरहेको अवस्थामा उद्धार गरिएको थियो।

ADVERTISEMENT

हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी ७७ वर्षीया मनलक्ष्मी राईको शव काठमाडौँबाट बालाबेँसी ल्याउँदै गरिएको थियो। परिवारका अनुसार मृतकको शव भने भोलि बालाबेँसी पुग्ने व्यवस्था मिलाइएको छ।

यात्रु बालकुमार राईका अनुसार, दुर्घटना लगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुनबाट जोगिएको थियो। “घटना सम्झिँदा सपनाजस्तो लाग्छ। सबैको होस् उडिसकेको थियो। चालकले तुरुन्त इञ्जिन अफ गरेपछि थप खतरा रोकियो,” उनले भने।

ADVERTISEMENT

एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको अनुभव र १,००५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड छ। कम्पनीका प्रवक्ता बालकृष्ण पण्डितका अनुसार, दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

घटनास्थलमा हेलिकप्टरको पङ्खा र पुच्छर टुक्रिएको अवस्थामा भेटिएको छ। हेलिकप्टर बारीको बीचमा लैजान खोज्दा पछाडिको भाग पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

स्थानीय बासिन्दा र वडाध्यक्ष मिलन राईका अनुसार, हेलिकप्टर दुर्घटना भए पनि सबै यात्रु सकुशल छन् र उद्धार कार्य तत्कालै सम्पन्न गरिएको थियो। अहिले घटनास्थलमा अनुसन्धान टोली पुगेको छ र विस्तृत प्रतिवेदन तयार भइरहेको छ।

यो दुर्घटनाले  काठमाडौँ–खोटाङ रुटमा यात्रुको सुरक्षामा ध्यान दिनुपर्ने जरुरी देखाएको छ। हेलिकप्टरले शव र यात्रु सँगै उडान गर्दा सुरक्षाका मापदण्ड कडा गरी अवतरण गर्नुपर्ने देखिन्छ।