काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै अबको पाँच वर्षलाई सामान्य राजनीतिक कार्यकालका रूपमा नलिन कडा चेतावनी दिएका छन्। उनले स्पष्ट शब्दमा भने—“यो जनादेश काँचुली फेर्ने जनादेश हो, हिजोको जस्तो राजनीति अब चल्दैन।”

उनले सांसदहरूलाई विगतका अभ्यासबाट मुक्त हुँदै नयाँ ढंगले काम गर्न आग्रह गरे। उनका अनुसार नेपाली जनताले दिएको मत केवल सरकार गठनका लागि नभई प्रणाली परिवर्तनका लागि हो। “राजनीति जसरी चलिरहेको थियो, त्यही ढंगले चलाउने सोच राख्नुहुन्छ भने यसले देशलाई फेरि अप्ठ्यारोमा पार्छ,” उनले भने।

नेतृत्वले विशेषगरी कानुन निर्माणको भूमिकामा जोड दिँदै सांसदहरूको मुख्य जिम्मेवारी जनजीवनसँग प्रत्यक्ष जोडिएको नीतिगत सुधार भएको उल्लेख गरे। उनले भने, “तपाईंहरूले बनाउने कानुनले नै जनताको घरमा बाटो बनाउँछ, धारा पुग्छ, बिजुली बल्छ र इन्टरनेट चल्छ। जनतालाई थाहा नहुन सक्छ, तर तपाईंलाई थाहा हुनैपर्छ—कुन कानुनले कहाँ रोकिरहेको छ।”

उनले सांसदहरूलाई अध्ययन, अनुसन्धान र तयारीमा समय खर्च गर्न आग्रह गर्दै ‘फोटो खिचाउने’ र ‘दौडधुप गर्ने’ पुरानो राजनीतिक शैली त्याग्न निर्देशन दिए। “शक्तिको वरिपरि घुम्ने, कसलाई भेट्ने, कसरी पद पाउने भन्ने खेल बन्द गर्नुहोस्,” उनले स्पष्ट भने।

संविधान बनेको लामो समय बितिसक्दा पनि धेरै कानुनहरू बन्न नसकेको तथ्य उल्लेख गर्दै उनले अब बहाना बनाउने समय सकिएको बताए। “जनताले हामीलाई लगभग दुई तिहाइको स्पष्ट जनादेश दिएका छन्। अब हामीलाई कसैले रोक्दैन—यदि रोक्छ भने हाम्रो आफ्नै नियतले मात्रै रोक्छ,” उनले भने।

रास्वपाको स्थापना कालदेखि नै विभिन्न चुनौती सामना गरेको स्मरण गराउँदै उनले पार्टीमाथि मुद्दा, दबाब र आक्रमण भए पनि जनविश्वासका कारण अघि बढ्न सफल भएको बताए। “हामीलाई कुल्चिने प्रयास भए, चुनाव चिह्नमाथि प्रहार भए, तर हामी हल्लिएनौं। किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो,” उनले भने।

उनले अघिल्लो निर्वाचनमा जनताले सीमित सिट दिएर नयाँ शक्तिलाई परीक्षण गरेको र पुराना दललाई सुधारको अवसर दिएको विश्लेषण गरे। तर त्यसलाई पुराना शक्तिले गुमाएको उल्लेख गर्दै उनले भने, “अब जनताले त्यो गल्ती दोहोर्‍याउने छैनन्। तपाईंलाई ३६ वर्ष होइन, ३६ महिना पनि कुर्नेवाला छैनन्।”

नेतृत्वले सांसदहरूलाई व्यक्तिगत स्वार्थ, पदलोलुपता र ‘म केन्द्रित’ सोच त्याग्न आग्रह गर्दै देशलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। “तपाईंको व्यक्तिगत सपना बोक्ने जिम्मा समाजको होइन, तर समाजको सपना बोक्ने जिम्मा तपाईंको हो,” उनले भने।

उनले शहीदहरूको बलिदानको स्मरण गराउँदै सांसदहरूलाई जिम्मेवारीप्रति गम्भीर हुन आग्रह गरे। “संसद छिर्नु सामान्य कुरा होइन। शहीदकी आमाले आफ्नो छोरा गुमाएर यो व्यवस्था ल्याएकी छिन्,” उनले भावुक हुँदै भने।

देशमा बिचौलियागिरी र स्वार्थ समूहहरूको प्रभाव रहेको उल्लेख गर्दै उनले सांसदहरूलाई त्यसबाट टाढा रहन चेतावनी दिए। “तपाईंलाई प्रभावित पार्न, विचलित बनाउन धेरै शक्ति लाग्नेछन्। तर हामी आफैं बलियो भयौं भने कसैले केही गर्न सक्दैन,” उनले भने।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हुने अभिव्यक्तिप्रति पनि उनले गम्भीर बन्न आग्रह गरे। “हल्का अभिव्यक्तिले देशलाई दीर्घकालीन असर पार्न सक्छ। तपाईं अब सामान्य व्यक्ति होइन, जिम्मेवार प्रतिनिधि हुनुहुन्छ,” उनले भने।

उनले सांसदहरूलाई जनतामाझ निरन्तर उपस्थित हुन, गाउँ–टोलमा पुग्न र समस्या प्रत्यक्ष बुझ्न निर्देशन दिए। “ठूला सेमिनार होइन, चिया चौतारोमा सांसद देखिनुपर्छ,” उनले भने।

स्वास्थ्य सेवा सुधारका लागि उदाहरण दिँदै उनले सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गर्न सुझाव दिए, जसले सार्वजनिक सेवाको गुणस्तर सुधार्न मद्दत गर्ने बताए।

पार्टीभित्र अनुशासन कायम गर्न ‘राइट टु रिकोल’ जस्ता प्रावधान कडाइका साथ लागू गरिने चेतावनी दिँदै उनले स्वतन्त्रता र जिम्मेवारीबीच सन्तुलन आवश्यक रहेको बताए।

उनले विकासको परिभाषा पुनः व्याख्या गर्दै भौतिक संरचनासँगै सामाजिक न्यायलाई मुख्य आधार मान्नुपर्ने बताए। “जहाँ विभेद छ, त्यहाँ विकास अधुरो छ,” उनले स्पष्ट गरे।

देशको समग्र विकासमा कर्णाली, मधेस र सुदूरपश्चिम जस्ता पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले समावेशी विकासमा जोड दिए।

नेतृत्वले निजी क्षेत्र र प्रवासी नेपालीहरूलाई पनि आश्वस्त पार्दै नेपाल लगानीका लागि सुरक्षित रहेको सन्देश दिए। “तपाईंलाई कुनै नेता होइन, नीतिले संरक्षण गर्नेछ,” उनले भने।

अन्त्यमा उनले यो जित पार्टीको मात्र नभई सम्पूर्ण देशको भएको उल्लेख गर्दै सबैलाई जिम्मेवारीका साथ काम गर्न आग्रह गरे। “यो जनताको जित हो, हामीले प्रमाणित गर्नुपर्छ,” उनले भने।