काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को फिफा विश्वकप पूर्वघोषित तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट पारेको छ। इरानले आफ्ना खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिको सार्न गरेको प्रस्ताव फिफाले अस्वीकार गरेको हो।
इरानमाथि अमेरिका–इजरायलबीचको युद्धको प्रभावका कारण सुरक्षा चिन्ता बढेपछि इरानले आफ्ना खेल स्थल परिवर्तन गर्न आग्रह गरेको थियो। तर फिफाले आधिकारिक विज्ञप्ति जारी गर्दै गत डिसेम्बर ६, २०२५ मा सार्वजनिक गरिएको तालिकाअनुसार नै प्रतियोगिता सञ्चालन हुने जनाएको छ।
फिफाले विज्ञप्तिमा उल्लेख गरेको छ, “फिफा विश्वकप २०२६ को तयारीबारे इरानसहित सबै सहभागी सदस्य संघहरूसँग नियमित सम्पर्कमा छ। सबै टोलीहरूलाई पूर्वनिर्धारित तालिकाअनुसार प्रतिस्पर्धा गर्न तयार रहन आग्रह गरिएको छ।”
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिता जुन ११ देखि सुरु हुने तय गरिएको छ।
तालिकाअनुसार इरानले आफ्ना खेलहरू अमेरिकाका विभिन्न शहरहरूमा खेल्नेछ। इरानले लस एन्जलसमा न्युजिल्याण्ड र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने सियाटलमा इजिप्टसँग खेल्ने तालिका रहेको छ।
यसबीच, इरानका खेलहरू मेक्सिकोमा सार्ने सम्भावनाबारे प्रश्न उठ्दा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो देश आवश्यक परे सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएकी थिइन्। उनले मेक्सिकोले सबै देशसँग कूटनीतिक सम्बन्ध कायम राखेकाले फिफाको निर्णय पर्खिरहेको बताएकी थिइन्।
यद्यपि, फिफाको पछिल्लो निर्णयसँगै प्रतियोगिता पूर्वनिर्धारित संरचना र तालिकाअनुसार नै सञ्चालन हुने स्पष्ट भएको छ। यसले विश्वकप तयारीमा संलग्न आयोजक राष्ट्रहरू र सहभागी टोलीहरूलाई निश्चितता प्रदान गरेको छ।








