काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई चैत १२ गते शपथ खुवाउने भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रत्यक्षका १६५ र समानुपातिकतर्फ १२५ सांसदलाई १२ गते शपथ खुवाउने सचिवालयको तयारी छ ।

सांसदहरूको शपथलगत्तै नयाँ सरकार गठन भए १५ गते प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गर्ने संसद् सचिवालयको तयारी छ । सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचनको परिणाम र सदस्यको विवरण बुझाएपछि सचिवालयले आफ्नो प्रक्रिया सरू गर्ने छ ।

ADVERTISEMENT

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्दैछ । आयोगले संसद् सचिवालयलाई बिहीबार नै नवनिर्वाचित सदस्यको नामावली दिनेछ । त्यसपछि सचिवालयले ती सदस्यका नाममा शपथमा उपस्थित हुनका निम्ति सात दिने सूचना जारी गर्नेछ । त्यहीबीचमा शपथ समारोहमा उपस्थितिका निम्ति राष्ट्रपतिको समय माग गर्दै पत्राचार गरिने भएको छ ।

निर्वाचन आयोगले दिने नवनिर्वाचित सदस्यको विवरणअनुसार अर्को व्यवस्था नहुँदासम्मका लागि ज्येष्ठ सदस्यलाई सभामुख तोक्नुपर्ने कानुनी व्यवस्था छ । यसपटक संसदमा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय अर्जुननरसिंह केसी छन् ।

ADVERTISEMENT

त्यसअनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सदस्यभन्दा पहिल्यै शपथ गराउनुपर्छ । यी सबै प्रक्रिया सिध्याएर सबै सांसदको शपथ गराउँदा कम्तीमा चैत १२ गते पुग्ने अनुमान गरिएको छ ।

शपथलगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ । यसपटक रास्वपाले बहुमत पाएकाले बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् ।