काठमाडौं । मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक कलेजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तकका सयौं प्रति जलाएको छ । शनिबार रातिको घटनापछि चीनले नेपालसँग कडा विरोध जनाएको छ।
यस घटनाप्रति प्रतिक्रिया जनाउँदै काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई एक मौखिक नोट पठाएको छ, जसमा संलग्नहरूलाई तुरुन्तै कारबाही गर्न आग्रह गरिएको छ ।
तर प्राविधिक कलेजमा पुस्तकका हजारौं प्रति किन राखियो भन्ने कुरा अझै खुल्न सकेको छैन । सरकारले यस विषयमा छानबिन थालेको छ । गृह मन्त्रालयले चिनियाँ राष्ट्रपतिको किताब जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
मोरङ जिल्ला प्रशासन र कोशी प्रदेश प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। शनिबार राति विराटनगरस्थित समाचार वेबसाइट लाइभ न्यूज रफ्तारले यो घटनाको पहिलो रिपोर्ट गरेको थियो। एउटा भिडियो क्लिपमा, मनमोहन प्राविधिक कलेज भित्रका केही व्यक्तिहरूले चिनियाँ राष्ट्रपतिको पुस्तकसहित धेरै पुस्तकहरू र कागजातहरू जलाएको देखिन्छ।
भिडियो फुटेजमा, राष्ट्रपति सीको ‘द गभर्नेन्स अफ चाइना’ सहित केही पुस्तकहरू अन्य पुस्तकहरूसँगै जलाइएको थियो। केही व्यक्तिहरूले सीको पुस्तक उचालेको देखिन्छ। भिडियो भाइरल भएपछि, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मिडिया कार्यालयमा टेलिफोन गरेर यसलाई डिलिट गर्न दबाब दिएका थिए । सो मिडियाले अहिले भिडियोको प्रमाण सुरक्षित राख्दै कन्टेन्ट डिलिट गरेको जनाएको छ । मोरङ प्रशासनको आग्रहमा भिडियो डिलिट गरिएको उसको भनाइ छ ।
चीनले आइतबार परराष्ट्र मन्त्रालयलाई मौखिक नोट पठाएको थियो। लगत्तै परराष्ट्रले गृह मन्त्रालयलाई यो विषय बुझ्न पत्र पठाएको थियो ।
फेसबुक प्रयोगकर्ता विजय थापाले मध्यरातमा राष्ट्रपति सीले लेखेका चीनका राजनीतिक र नीतिगत विचारहरूको संग्रह द गभर्नेन्स अफ चाइनाका हजारौं प्रतिहरू मनमोहन कलेजभित्र जलाइएको दाबी गरेका छन् ।
‘यस्ता गतिविधिहरू किन भए रु ती हजारौं पुस्तकहरू कहाँबाट ल्याइएका थिए र कुन उद्देश्यका लागि जलाइएका थिए रु अधिकारीहरूले यस विषयमा गम्भीर ध्यान दिनुपर्छ,’ थापाले आफ्नो फेसबुक पेजमा चिनियाँ दूतावासलाई ट्याग गर्दै लेखेका छन् । नयाँ सरकार बन्दै गर्दा यस्ता गतिविधिले असर गर्ने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।








