काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नयाँ सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम मंगलबार र बुधबार ललितपुरस्थित होटल रोयल टुलिपमा सञ्चालन हुने पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
पार्टीका अनुसार कार्यक्रम आवासीय हुनेछ र सहभागी हुने सांसदहरूका लागि सात बुँदे निर्देशन जारी गरिएको छ। निर्देशनअनुसार अभिमुखीकरण कार्यक्रम चलिरहँदा हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
जारी सूचनाको दोस्रो बुँदामा ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ’ भन्ने स्पष्ट उल्लेख गरिएको छ।
त्यसैगरी कार्यक्रममा बाह्य व्यक्तिको प्रवेशमा पनि रोक लगाइएको छ। सांसदहरूलाई कार्यक्रम स्थलमा परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनालाई नबोलाउन पार्टीले निर्देशन दिएको छ।
निर्देशनअनुसार कार्यक्रम अवधिभर सांसदहरूले परिवारका सदस्य वा अन्य व्यक्तिसँग कार्यक्रम स्थलमा भेटघाट गर्न र फोटो खिच्नसमेत नपाउने व्यवस्था गरिएको छ।
पार्टीले सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया तथा पार्टीको कार्यदिशाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।







