काठमाडौं । पूर्वसांसद सन्तोष चालिसे पाँच लाख धरौटी राखेर रिहा भएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतले पाँच लाख धरौटी माग गरेपछि उनी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सोमबार बयानपछि थुनछेक बहस गर्दै धरौटी माग गरेको हो ।

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि मंसिर २८ गते गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।

आठ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ । योमध्ये उनले तीन करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

ADVERTISEMENT

अख्तियारले चालिसेसहित उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले फागुन २१ को निर्वाचनमा उनलाई उम्मेदवार बनाएको थिएन । उनी उम्मेदवार नबनेपछि काठमाडौं ३ मा रमेश अर्यालले टिकट पाएका थिए । तर त्यो क्षेत्रमा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी भए ।