काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा दीर्घकालीन सेवा पुर्‍याएका कर्मचारीहरूलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ।बैंकले उन्नाइसौँ वर्ष पूरा गरी बीसौँ वर्षमा प्रवेश गर्ने क्रममा एक महिने वार्षिक उत्सव कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अवसरमा आज (चैत १) कर्मचारी दिवसको रूपमा मनाउँदै बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको हो।

नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले १० वर्ष सेवा गरेका ४८ जना र १५ वर्ष सेवा गरेका १४ जना गरी जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट शतप्रतिशत योगदान गर्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउन आग्रह गरे। उनले कर्मचारीलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न समेत आग्रह गरे।

बैंकका अनुसार हालसम्म १० वर्ष सेवा पूरा गर्ने २९० जना र १५ वर्ष सेवा पूरा गर्ने ६६ जना गरी कुल ३५६ जना कर्मचारीले दीर्घ सेवा सम्मान पदक प्राप्त गरिसकेका छन्। हाल बैंकमा एक हजार ७६४ कर्मचारी कार्यरत छन्।

वि.सं. २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। वैशाख ७ गते बैंकको स्थापना दिवसका रूपमा मनाइन्छ।

बैंकले हालै विभिन्न नवीन सेवा तथा उत्पादन पनि सुरु गरेको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

यसका साथै नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूलाई लक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ सञ्चालनमा ल्याइएको छ। मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएएन नम्बर सेवा लिन सकिने सुविधा समेत बैंकले सुरु गरेको छ।

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।