काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्।प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनयन गरेकी हुन्। उनलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरिएको जनाइएको छ।
श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। प्रधानमन्त्रीको सचिवालयमा उनले पत्नी र नातेदारलाई राखेको विषय सार्वजनिक भएपछि विवाद समेत उत्पन्न भएको थियो।
श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिवका रूपमा नियुक्त गरेको विषय बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयका सबै स्वकीय नियुक्तिहरू हटाइएको थियो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले पदीय पहुँच प्रयोग गरेर आफ्नी श्रीमतीलाई जागिरमा भर्ना गरेको विषय सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको थियो।यसबीच सरकारले श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गरेपछि उक्त निर्णयबारे पनि विभिन्न प्रतिक्रिया आउने क्रम जारी रहेको छ।










