पोखरा।  स्वतन्त्र उम्मेदवारीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित तथा प्रख्यात वैज्ञानिक डा. महाविर पुनमाथि पोखरामा अभद्र व्यवहार गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८१ फागुन २५ गते पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकमा डा. पुनले आफ्नो पुस्तक “महाविर पुन सम्झना, सपना र अविरल यात्रा” बिक्री गरिरहेका बेला एक अपरिचित व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

घटनाको विषयमा व्यापक चर्चा भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न पोखरा महानगरपालिका वडा नं. ९ बाँग्लापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेको पुष्टि भएको छ। प्रहरीले २०८१ फागुन २६ गते महेन्द्रपुल क्षेत्रबाट उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, पक्राउ परेका विकास गुरुङ यसअघि लागूऔषधसम्बन्धी मुद्दामा तीन पटक सजाय भुक्तानी गरिसकेका व्यक्ति हुन्।

डा. महाविर पुन विभिन्न जिल्लाहरूमा टोलीसहित भ्रमण गर्दै आफ्नो पुस्तक बिक्रीका लागि कार्यक्रम आयोजना गरिरहेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै चर्चा पाएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको थप अनुसन्धान जारी राखेको र आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ।