काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने एलपीजी ग्यास लगायतका पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

आयोगका सहप्रवक्ता एवं उपसचिव श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वमा उत्पन्न पछिल्लो परिस्थितिबीच काठमाडौं उपत्यकामा एलपीजी ग्यास अभाव भएको र त्यसका कारण उपभोक्तामा चिन्ता तथा त्रास उत्पन्न भएको विषयप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

उक्त सन्दर्भमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरूको अनुगमन तथा अवलोकन समेत गरेको जनाएको छ।

अनुगमनका क्रममा आपूर्तिमा केही कमी देखिए पनि विभिन्न सञ्चारमाध्यममा ग्यास आपूर्ति व्यवस्थापनमै ठूलो समस्या आएको भन्ने सन्देश प्रवाह भएपछि उपभोक्ताहरूले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको पाइएको आयोगले जनाएको छ। साथै केही व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको तथ्य पनि भेटिएको आयोगले उल्लेख गरेको छ।

आयोगले यस्तो अवस्थाले उपभोक्ताको अधिकार प्रयोगमा असर परेको जनाएको छ। विज्ञप्तिमा नेपालको संविधानको धारा ४४, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नेपाल पक्ष भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ ले उपभोक्तालाई प्रदान गरेका अधिकारको प्रयोगमा असहजता सिर्जना भएको उल्लेख गरिएको छ।

आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै आवश्यक उपाय अवलम्बन गर्न, कृत्रिम अभाव सिर्जना गर्ने व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन, अनावश्यक भण्डारणको प्रवृत्ति नियन्त्रण गर्न र अत्यावश्यक वस्तुको आपूर्ति अविलम्ब सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

आयोगले उपभोक्ताको अधिकार संरक्षण गर्दै बजारमा अत्यावश्यक वस्तुको सहज आपूर्ति कायम गर्न सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न समेत आग्रह गरेको छ।