काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि कार्यक्रममा अध्यक्ष ओलीले आफ्ना पितालाई मुखाग्नि दिएका थिए।

मोहनप्रसाद ओलीको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा उपचार भइरहँदा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
अन्त्येष्टिअघि अस्पताल परिसरमा उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, एमालेका नेता तथा कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरू पुगेका थिए। उनीहरूले दिवंगत मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
मोहनप्रसाद ओली पछिल्लो समय भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। यसअघि भने उनी झापास्थित आफ्नै घरमा बसोबास गर्दै आएका थिए र समय–समयमा त्यहाँ आउजाउ गरिरहन्थे।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा झापास्थित उनको घरमा आगजनी गरिएको थियो। त्यस घटनापछि भने उनी झापा नफर्की भक्तपुरमै बस्दै आएका थिए।मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।









