पोखरा । पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्चीमा बस्दा थापालाई हृदयघात भएको हो।
हृदयघात हुनासाथ उनलाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। क्षेत्रीले भने, “हामी कास्की १ को समीक्षा बैठक सकेर बसिरहेका थियौं, कुर्चीमै उहाँलाई हृदयघात भयो र अस्पताल लग्यौं। डाक्टरले मृत घोषणा गर्नुभयो।”
२०५४ सालको स्थानीय निर्वाचनमा थापा पोखराको मेयर निर्वाचित भएका थिए। त्यसपछि उनी २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा फेरि पोखरा महानगरको मेयर प्रत्यासी थिए।
नेकपा एमाले कास्की इन्चार्ज एवं केन्द्रीय सदस्य रहेका थापा यसपटक भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट टिकट पाएका थिए। तर, उनले पाएको टिकट अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी रूष्ट भएको बताइएको छ।
पोखरा र गण्डकी प्रदेश राजनीतिमा सक्रिय भूमिका खेलेका थापाको निधनले स्थानीय राजनीतिक क्षेत्रमा शोक छाएको छ।






