काठमाडौं।  सुर्खेतकी १६ वर्षीया इनिशा बिकको सामूहिक बलात्कारपछि हत्या भएको भनिएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) ले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनामा संलग्न सबै दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

ADVERTISEMENT

उनले आफ्नो स्टाटसमा बालिकामाथि भएको जघन्य अपराधले समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन जोड दिएका छन्।

सुर्खेतको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशा बिक अचेत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

ADVERTISEMENT

घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। काठमाडौंको मैतीघर मण्डलामा पनि दलित समुदाय र युवाहरूले प्रदर्शन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

प्रचण्डले पनि यही घटनालाई लिएर सरकारले निष्पक्ष अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन गम्भीर पहल गर्नुपर्ने बताएका छन्।