काठमाडौं। वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।ग्रीस पठाइदिन्छु भन्दै तीन जना व्यक्तिबाट रु २५ लाख ठगी गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने भन्दै राईले पीडितहरूसँग रकम लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राईलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।








