काठमाडौं। परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावका कारण खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार अधिकांश नेपाली श्रमिक सुरक्षित रहेको बताए। उनका अनुसार हाल केही हवाई ट्रान्जिटमा परेका नेपाली नागरिकबाहेक अरूलाई तत्कालै उद्धार गर्नुपर्ने स्थिति देखिएको छैन।

ADVERTISEMENT

“हामीले दूतावासमार्फत जानकारी लिँदा तत्कालै ठूलो स्तरमा उद्धार गर्नुपर्ने अवस्था छैन,” उनले भने, “तर ट्रान्जिटमा परेकाहरूको उद्धारको काम भइरहेको छ।”सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ‘इमर्जेन्सी रेस्क्यु’ टोलीलाई अझ सक्षम बनाउने तयारी गरेको पनि उनले बताए। मन्त्रालयका अनुसार अनलाइन फाराममार्फत असुरक्षित महसुस गरेको भन्दै करिब पाँच हजार नेपालीले विवरण दर्ता गरेका छन्।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पनि युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली श्रमिक हालसम्म सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार दुबईमा कार्यरत एक नेपालीको मृत्यु भएको भए पनि त्यो युद्धसँग प्रत्यक्ष सम्बन्धित नभएको जनाइएको छ।

युद्धको प्रभावका कारण १५ जना नेपाली श्रमिक सामान्य घाइते भएकोमा १४ जना उपचारपछि काममा फर्किसकेको जानकारी पनि मन्त्रालयले दिएको छ।

ADVERTISEMENT

बहराइनमा युद्ध प्रभावित २६०० जना मानिस सेल्टरमा रहेको र तीमध्ये चार नेपाली पनि सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खाडी मुलुकमा हाल करिब १७ लाख २९ हजार नेपाली श्रमिक कार्यरत छन्।

मन्त्रालयले दूतावासमार्फत दैनिक दुई–तीन पटक फोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकको अवस्था र तथ्यांक संकलन गरिरहेको जनाएको छ।