काठमाडौं । निर्वाचन आयोगले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नदेखिएको जनाएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार सबै मतदान केन्द्रमा समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
“सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन,” उनले भने।
यद्यपि बिहीबार मतदानका क्रममा दोलखा र सर्लाही–४ का केही स्थानमा सामान्य विवादका कारण केही समय मतदान रोक्नुपरेको थियो। पछि अवस्था सामान्य भएपछि पुनः मतदान सुरु गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको छ। हेलिकोप्टरमार्फत रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्ला लगायतका स्थानबाट मतपेटिका संकलन भइसकेको भट्टराईले बताए।
अन्य जिल्लाबाट मतपेटिका ढुवानी गर्ने कार्य जारी रहेको र शुक्रबार दिउँसो १२ बजेसम्म सबै स्थानबाट संकलन कार्य सम्पन्न गर्ने योजना रहेको आयोगले जनाएको छ।







