काठमाडौं । पछिल्लो समय चर्चामा आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल अब समृद्धिको चरणमा प्रवेश गरेको बताएकी छन् । बिहीबार होटेल सोल्टीमा आयोजित एक कार्यक्रममा उनी अर्थतन्त्रबारे मात्रै सीमित भइन् । राजनीतिबारे खुलिनन् ।

एमालेले पार्टी राजनीति गर्न रोकेपछि भण्डारीले सार्वजनिक फोरममा केही महत्वपूर्ण कुरा भन्ने धेरैको अपेक्षा थियो । तर उनले त्यस्तो केही भनिनन् । सो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा.मिनेन्द्र रिजाललगायत वक्ताका रूपमा थिए ।

ADVERTISEMENT

‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हामीले महत्त्वपूर्ण चरण पार गरेका छौँ। अब हामी आर्थिक समृद्धिको चरणमा प्रवेश गरेका छौँ,’ उनले भनिन् । सामाजिक न्याय र समानतामा आधारमा समाजवाद निर्माणमा जुट्नुपर्ने भन्दै उनले लगानीको दीगो परिचालनमा धयान केन्द्रित गर्नुपर्ने सुझाव दिइन्।

‘राजनीतिक दलहरूले उपयुक्त कार्यान्वयनमा आआफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। सरकारले विद्यमान नीतिहरूको गहन समीक्षा गर्दै अग्रसरता देखाउनुपर्छ’, उनले भनिन्, ‘प्रतिपक्षले रचनात्मक सहयोग गर्नुपर्छ। यसपछि मात्रै स्वदेशी तथा विदेशी लगानीको ढोका खुल्नेछ। दीगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ।’

ADVERTISEMENT

आर्थिक विकासका लागि अत्यन्त अनुकूल समय भएको बताउँदै उनले अब उर्वर कृषि भूमि, जल सम्पदा र खनिजको उपयोग गर्नुपर्नेमा जोड दिइन्।

‘रुग्ण उद्योगको सञ्चालन प्राकृतिक र सांस्कृतिक सम्पदालाई आधार बनाएर आर्थिक समृद्धिको बाटो तय गर्नुपर्छ। उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ’, भण्डारीले भनिन्। आर्थिक उन्नयनका लागि स्वदेशी सीप र प्रविधिको अति आवश्यक रहेकाले नेपालीको पुँजी र अन्य लगानीलाई लगानीको वातारवरणमार्फत आकर्षण गर्नुपर्ने बताइन्।