ललितपुर। यही फागुन २१ गते हुने निर्वाचनका लागि ललितपुर क्षेत्र नं. ३ मा संसद भवन जल्दा रमाउने तोसिमा र विद्यालयको जग्गामा आँखा लगाउने राजकाजी सहित २० उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । अघिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका कारण नेपाली कांग्रेसको समेत मत पाएर सांसद बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा कार्कीलाई यस पटक घरदैलोमा पुग्दा मतदाताले हायलकायल पारिदिएका छन् ।
मतदातासंगै मत माग्ने घरदैलोमा पुगेकी तोसिमा कार्कीलाई मतदाताले हप्काएको भिडियो अहिले फेसबुकमा छ्याछ्याप्ती छ ।
नेवार समुदायका एक जेष्ठनागरिक मतदाता भन्छन्, ” चार बर्ष भयो, तपाईलाई ३ नम्बर क्षेत्रमा जिताएर पठाएको, बिसौं हजार मत दिएर पठाएको, चित्त बुझेर दियौं, त्यसपछि एकपटक क्षेत्रमा घुमेर आउनु भएन, हामीलाई आपतमा नआउने, अनि भोट माग्न मात्रै आउने?”
फेसबुकमा भेटिएको २७ सेकेन्ड लामो भिडियोमा मतदाताले प्रश्न बर्साउँदा तोसिमा नाजवाफ बनेको देखिन्छ।
सांसद जितेर गएपछि १३ दिन स्वास्थ्य राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी तोसिमाले ललितपुर क्षेत्र नं. ३ को मुद्दामा संसदमा एकाध बिषय बाहेक खासै ध्यान दिएको पाइएन भन्ने अधिकाँश मतदाताको गुनासो रहेको देखिन्छ।

कार्कीलाई प्रश्नको ओइरो लागेका भिडियोहरु अहिले फेसबुक र टिकटकमा व्याप्त छन् । २७ सेकेन्डको भिडियो त एउटा नमुना मात्रै हो। सांसद रहँदा रवि लामिछानेको सहकारी काण्डमा बचाउमा मात्रै उत्रिएकी कार्कीसंग ललितपुर ३ का मतदाता रुष्ट बनेका देखिन्छन्।

ADVERTISEMENT

सुनाकोठीका स्थानीय नेवार समुदायबाट आफ्नो पहिचान बनाउँदै क्रान्तिमार्फत राजनीतिमा होमिएका राजकाजी महर्जन पुल्चोकको मदन स्मारक, सातदोबाटोक‍ो महेन्द्र आदर्शको जग्गा बिवाद र हरिसिद्धिको ईटाटायल कारखानाको जग्गा बिवादमा जोडिएका व्यक्ति हुन्। संविधानसभा सदस्यमा ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित भएका राजकाजी बागमती प्रदेशसभाका पूर्वसदस्य समेत हुन् ।
२०६६ माघ २८ गते अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका राजकाजीले आफू अध्यक्ष रहँदा व्यक्तिगत लाभ लिएर विद्यालयलाई हानी हुनेगरी लिजमा दिने निर्णय गरेका थिए ।
राजकाजीले केही बर्षअगाडि “राजनीति पार्टीमा क्रियाशील शिक्षकहरुको बिषयमा प्रकाशित एक समाचारको बिषयलाई लिएर ललितपुरका एक पत्रकारको अण्डकोष नै फुटाइदिने धम्कीसमेत दिएका थिए।

डाक्टर तोसिमा कार्की र राजकाजी महर्जनसंगै ललितपुरमा नेकपा (एमाले) बाट सन्दन थापामगर, नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सबिन खड्का, जसपा नेपालबाट कृष्णदेवी महर्जन, नेमकिपाबाट रमिला महर्जन, राष्ट्रिय जनमोर्चाबाट निलगोबिन्द महर्जन, प्रलोपाबाट विष्णुराज खड्का, उज्यालो नेपालबाट बिजय पन्तसहितका उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

ADVERTISEMENT

एमालेका सन्दन थापामगर पार्टीको राजनीतिमा क्रियाशील भएपनि आम सर्वसाधारणमा खासै नचिनिएका व्यक्ति हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जितेन्द्रकुमार श्रेष्ठ ललितपुरका पार्टी सभापति हुन् । २०७८ सालमा सभापतिमा निर्वाचित भएका श्रेष्ठ यसअघि कुनै लाभको पदमा रहेका छैनन्।