काठमाडौँ। काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूले उत्साहका साथ होली पर्व मनाएका छन्। रङ, अबिर र पानीले एकअर्कालाई रंग्याउँदै सहभागीहरूले होलीको खुसी साटासाट गरेका थिए।

होली मनाउन बसन्तपुर पुगेका नेपाली युवायुवतीसँगै विदेशी पर्यटकहरू पनि निकै रमाएका देखिन्थे। उनीहरू नेपाली संस्कृतिप्रति आकर्षित हुँदै नाचगान र रङ खेल्दै पर्वको आनन्द लिइरहेका थिए।
दरबार क्षेत्र वरिपरि होलीका गीतहरू बजिरहेका थिए भने युवाहरू समूह–समूहमा नाच्दै पर्व मनाइरहेका थिए। होलीका कारण बसन्तपुर क्षेत्र बिहानदेखि नै निकै चहलपहलपूर्ण बनेको थियो।
सुरक्षाका लागि नेपाल प्रहरीले पनि बसन्तपुर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो। होलीका अवसरमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।
हरेक वर्षजस्तै यस वर्ष पनि बसन्तपुरमा होली मनाउन स्वदेशी तथा विदेशीको उल्लेख्य उपस्थिति देखिएको छ। नेपालको सांस्कृतिक पर्वप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको स्थानीयले बताएका छन्।





