ढोरपाटन, फागुन १४ । बागलुङको जैमिनी क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँगाउँमा पुगेका उम्मेदवारसमक्ष स्थानीय बासिन्दाले बाँदर नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। पछिल्ला वर्षहरूमा बढ्दो बाँदर आतङ्कका कारण ग्रामीण जीवन कष्टकर बन्दै गएको भन्दै मतदाताले यस समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका हुन्।

स्थानीयका अनुसार बसाइँसराइका कारण गाउँहरू रित्तिँदै जाँदा वन्यजन्तु विशेषगरी बाँदर मानव बस्ती नजिकै बस्न थालेका छन्। बारीमा लगाइएका अन्नबाली नष्ट हुनुका साथै घरभित्र राखिएका खाद्यान्न र अन्य सामग्रीसमेत क्षति पुग्ने गरेको छ। खेतीपातीमा निर्भर परिवारहरू उत्पादन घट्दा आर्थिक रूपमा समेत मारमा परेका छन्।

बालबालिका र वृद्धवृद्धालाई घरमा एक्लै छोड्न समस्या हुने गरेको गुनासो पनि व्यापक छ। वन क्षेत्रबाट गाउँ पसेका बाँदरले आक्रमण गर्ने डर बढेको स्थानीयको भनाइ छ। दैनिक कामकाज वा मेलापातमा जाँदा घर कुरुवा राख्नुपर्ने बाध्यता बढेको बताइएको छ।

स्थानीय बासिन्दाले विकास निर्माणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई पनि समान रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। गाउँमा बसोबास गर्ने वातावरण सुरक्षित र सहज बनाउन प्रभावकारी नीति आवश्यक रहेको उनीहरूको जोड छ।

निर्वाचनको संघारमा विभिन्न दलका उम्मेदवार मत माग्न पुगे पनि मतदाताले यसपालि कृषि, सुरक्षालगायत ग्रामीण समस्यालाई प्राथमिकता दिने नेतृत्व रोज्ने संकेत गरेका छन्। बाँदर नियन्त्रणका लागि स्पष्ट योजना र कार्यान्वयन प्रतिबद्धता देखाउने उम्मेदवारप्रति झुकाव रहने स्थानीयको धारणा छ।