काठमाडौं । गत चैत १५ को तीनकुने काण्डमा डेढ महिनासम्म थुनामा बसेर धरौटीमा रिहा भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पार्टीसँग असन्तुष्ट देखिएका छन् ।

तीनकुने घटनापछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो। सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी हिरासतबाट ४९ दिनपछि हाजिरी जमानीमा छुटेका थिए। आफूलाई छुटाउन पार्टीले कुनै भूमिका नखेलेको उनले अनुभूति गरेका छन् ।

ADVERTISEMENT

खासगरी विवेकशील साझा पार्टीबाट राप्रपा प्रवेश गर्दा सँगै आएका नेताहरूको नाम अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म निर्वाचन आयोगमा नबुझाएपछि उनी असन्तुष्ट बनेका हुन् ।

ADVERTISEMENT

पछिल्लो समय पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेपछि मतभेद बढिरहेका बेला वरिष्ठ मिश्र मौन थिए। उनी सार्वजनिक कार्यक्रमहरूमा देखिएका छैनन्, अभिव्यक्तिसमेत दिएका थिएनन्।

मिश्रले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘देशमा प्रमुख नेताहरूले धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा बोल्नुपर्छ। तर देशका प्रमुख नेताहरूले पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिकरूपमा धेरै बोल्नु हुँदैन।’

ADVERTISEMENT

उनले पार्टीभित्र मतभेद रहेको अवस्थातर्फ लक्ष्य गर्दै यस्तो बेला धेरै बोल्न नहुने उल्लेख गरेका छन्। ‘म देशको प्रमुख नेता होइन तर पदीयरूपमा पार्टीको एक जना प्रमुख नेता हुँ। त्यसैले म अत्यावश्यक नभई बोल्दिनँ। सबैले एकैपटक बोल्नुपर्दैन। नबोल्नुलाई डराएको भनेर कसैले सोचेको छ भने त्यसको मूल्य महँगो पर्न सक्छ,’ मिश्रले भनेका छन् ।