काठमाडौं । रास्वपा कार्यकर्ताले एमालेको सूर्य अंकित झण्डा जलाएका छन् । दाङको तुलसीपुरमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेनको स्वागत गर्न बसेकाहरुले एमालेको झण्डा जलाएको आरोप लागेको हो ।
बिहीबार राति रास्वपा कार्यकर्ता र समर्थकहरुले एमाले र पार्टी अध्यक्ष केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा हालिएको भिडियोपछि दाङमा राजनीतिक तनाव बढेको छ । लामिछाने समूह सुर्खेतबाट तुलसीपुर हुँदै घोराही जाने क्रममा उक्त घटना भएको हो ।
एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुरमा भएको उक्त घटनापछि एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले विरोध जनाएकी छन् ।
रास्वपा दाङले उक्त कार्यमा आफ्नो पार्टीको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ । यो घटनाले चुनावी माहौलमा असर पुग्नसक्ने आकलन गरिएको छ ।
एमालेनिकट नेसनल भोलिन्टयर फोर्सले पार्टीको झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई करबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले शुक्बार विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो ।
‘हिजो साँझ दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कार्यक्रममा एमालेको पार्टी झण्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, राज्यले यो घटनालाई नजरअन्दाज गर्छ, र अपराधिक मानसिकता बोकेको जत्थालाई तत्काल कारबाहीको दायरामा ल्याएन भने नेसनल भोलिन्टयर फोर्स यस्ता कार्यका विरुद्ध सशक्त रूपमा उभिनेछ । हामी राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका खातिर अराजकविरुद्ध सशक्त प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छौँ ।’












