काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्।
युएईको अबुधाबीस्थित राष्ट्रपतिको कार्यालयमार्फत पठाइएको सन्देशमा नेपाल सरकार र नेपाली जनताप्रति शुभकामना व्यक्त गरिएको जनाइएको छ। काठमाडौँस्थित युएई दूतावासका अनुसार उक्त सन्देश बिहीबार प्रेषित गरिएको हो।
त्यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम तथा उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाएका छन्।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध सुदृढ रहँदै आएको छ। दुवै देशबीच श्रम, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ।






