काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै मुलुकलाई स्थायित्व र प्रगतितर्फ डोर्‍याउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्तित्वहरूप्रति सम्मान प्रकट गरेका छन्। प्रजातन्त्र स्थापना र संरक्षणका लागि भएका संघर्षहरूले नै आजको राजनीतिक उपलब्धि सम्भव भएको उनले उल्लेख गरेका छन्।

उनले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण तथा जनअपेक्षा अनुरूप सुशासन र तीव्र विकास सुनिश्चित गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्। लोकतन्त्रलाई व्यवहारमा परिणाममुखी बनाउन राज्यका सबै अंग र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

राष्ट्रपति पौडेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएकाले यसलाई स्वच्छ, निष्पक्ष र सफल बनाउन नागरिक, राजनीतिक दल तथा सरोकारवाला सबैले सक्रिय योगदान गर्नुपर्ने उनले अपिल गरेका छन्। उनले जनताको मताधिकारको सम्मान र सहभागितामूलक अभ्यासले नै लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्।

वि.सं. २००७ सालको क्रान्तिले निरङ्कुश शासनको अन्त्य गरी मानवअधिकार र नागरिक स्वतन्त्रताको मार्ग प्रशस्त गरेको ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै उनले त्यस संघर्षलाई सम्मानपूर्वक सम्झनुपर्ने बताएका छन्। सो क्रान्तिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनातर्फको दीर्घ राजनीतिक यात्राको आधार तयार गरेको उनले उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। सहिदहरूको त्याग र बलिदानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको र राज्य शक्तिको स्रोत जनता नै हुन् भन्ने मान्यता स्थापित गरेको उनले बताएका छन्।

उनले लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। संविधानले अङ्गीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था न्याय, समानता र सामाजिक न्यायमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणतर्फ उन्मुख रहेको उनले उल्लेख गरेका छन्। लोकतन्त्रले सामाजिक सद्भाव, समावेशिता र बृहत् राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य भएको बताएका छन्। पारदर्शिता, उत्तरदायित्व र विधिको शासनलाई सुदृढ गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उनले बताएका छन्।

शुभकामना सन्देशको अन्त्यमा उनले प्रजातन्त्र दिवसले सबैमा जिम्मेवारीबोध, राष्ट्रिय एकता र लोकतान्त्रिक प्रतिबद्धता अझ सशक्त बनाओस् भन्ने कामना व्यक्त गरेका छन्। लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण गर्दै समुन्नत, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणमा आ–आफ्नो स्थानबाट योगदान दिन सबैमा उनले आग्रह गरेका छन्।