काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले चुनावपछि आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गरेका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सापकोटा यस्तो बताएका हुन् ।
‘सबै पक्षको सामूहिक प्रयासबाट आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको छ। संघर्षपूर्ण इतिहास, स्पष्ट विचार एवं एजेन्डा, भविष्यका लागि ठोस कार्ययोजना र विगतका कमीकमजोरीहरू स्वीकार गर्दै सुधारको स्पष्ट प्रतिबद्धतासहित हामी विगतदेखि नै जनतामाझ रहेकोले देशैभरी हाम्रो पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको छ। हाम्रो नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष तथा नेपाली जनताका बिभिन्न आन्दोलनहरुको वलमा संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणाली, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता हामीले निरन्तर उठाउँदै आएका एजेन्डाहरू आज सबैका साझा एजेण्डा बनेका छन्। हामी दृढ विश्वासका साथ भन्न चाहन्छौं, देशलाई इमान्दारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति हाम्रो पार्टी मात्र हो,’ नेकपाको विज्ञप्तिमा उल्लेख छ ।
सापकोटाले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैल्याएर अवमूल्यन गर्ने काम गरिरहेको बताए । उनले पत्रकारिताको न्यूनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्तिसमेत जनाए।
उनले त्यस्ता खालको गतिविधि नगर्न पनि सञ्चार माध्यमहरुलाई आग्रह गरे। उनले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना लगाउनका लागि अनुगमनका कडाई गर्न नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराए।
‘निर्वाचन आचारसंहिता उल्लंघन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । केही सीमित सञ्चार माध्यमहरु पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैल्याएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयास निरन्तर गरिरहेको छ । यस प्रकारको गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँदछ । हामी सबै सञ्चार माध्यमलाई पत्रकारितको मूल्य,मान्यता तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिताको कडाईका साथ पालना गरिदिन आग्रह गर्दछौँ,’ सापकोटाले जारी गरेको विज्ञप्तिमा छ ।
नेकपाले यतिबेला देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको जनाएको छ । ‘एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका श्रृंखलाहरु चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हावी छ। अर्कोतर्फ, जनभावनालाई निहित समूहहरुको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद छ,’ नेकपाले भनेको छ ।





