वीरगन्ज । वीरगन्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीनजना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चारजनालाई सोमबार राति पक्राउ गरिएको जानकारी दिए । ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।’

ADVERTISEMENT

संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशंकामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ ।

व्यापारी र तस्कर समूहले सुरक्षाकर्मीमाथि अन्धाधुन्ध र लखेटीलखेटी आक्रमण गरेको थियो । यो घटनापछि प्रमुख सहरमा सुरक्षा स्थिति निकै कमजोर रहेको विश्लेषण गर्न थालिएको छ ।