ढोरपाटन (बागलुङ)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा गाउँ तथा सहरमा चुनावी गतिविधि बढ्न थालेको छ । दल र उम्मेदवारहरूले एजेण्डा, प्रतिबद्धता र सङ्कल्पपत्र लिएर मतदाताको घरदैलो गरिरहेका छन् ।

तर यसअघिका निर्वाचनझैँ यसपटक उम्मेदवार र दललाई मतदाता भेट्न सहज छैन । मतदातामा बढ्दो चेतना, सूचना प्रविधि र सामाजिक सञ्जालको पहुँचले उम्मेदवारलाई जवाफदेही बनाएको छ । पटक–पटक आश्वासनमा मतदान गर्दै आएका मतदाता यसपटक व्यवहारिक योजना र स्पष्ट कार्यदिशा भएका उम्मेदवार खोजिरहेका देखिन्छन् ।

ADVERTISEMENT

निसीखोला गाउँपालिका–६ का ७३ वर्षीय चुनमान घर्तीमगरले आधारभूत आवश्यकतामा केन्द्रित नेता आवश्यक रहेको बताए । उनका अनुसार यसअघिका नेताले आश्वासन मात्र दिएर काम नगरेका कारण खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता विषय अझै समाधान हुन सकेका छैनन् । चुनावका बेला गरिएका प्रतिबद्धता चुनावपछि बिर्सिने प्रवृत्ति रहेको उनको भनाइ छ ।

उनले भने, “हामीले पटक–पटक जितायौँ, उनीहरूले पद पाए र आफ्नालाई अवसर दिए, तर हामीले निराशाबाहेक केही पाएनौँ । यसपटक प्रतिबद्धता मात्रै होइन, काम गर्ने योजनासहित आउने उम्मेदवारलाई भोट दिने सोच बनाएको छु ।”

ADVERTISEMENT

ढोरपाटन नगरपालिका–२ की थमकुमारी खत्रीले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवार आवश्यक रहेको बताइन् । ग्रामीण सडक वर्षभरि सञ्चालन नहुँदा किसानले उत्पादन गरेका वस्तु नष्ट हुने गरेको उल्लेख गर्दै उनले चुनावका बेला नेताले झुटा आशा मात्रै देखाउने गरेको गुनासो गरिन् । गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहे पनि समाधान हुन नसकेको उनको भनाइ छ ।

उनले भनिन्, “बहुदल आएपछि नेताहरूले पटक–पटक भोट लिए, तर चुनाव जितेपछि गाउँ फर्केर हेरेनन् । समस्या धेरै छन्, समाधान गर्न कसैले सकेन । हामी सधैँ भोट दिने मात्रै भयौँ ।”

बडिगाड गाउँपालिका–८ का निमबहादुर विकले दुर्गम गाउँमा विकास गर्न सक्ने नेता नपाएको बताए । उनका अनुसार धेरै नेताको ध्यान सहर बजारमा केन्द्रित हुँदा विकट बस्तीहरू विकासबाट पछाडि परेका छन् । चुनाव जितेपछि जनताको समस्या बुझेर काम गर्ने नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, “सहरमा विकास देखिन्छ, तर गाउँमा भौगोलिक विकटताले विकास नै ठगेको छ । धेरै नेता जिताएर पठायौँ, तर उनीहरूको नजर यहाँ परेन । सुरुमा सबैले काम गर्छु भन्छन्, तर चुनावपछि नेता नै हराउँछन् ।”