भद्रपुर (झापा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा निर्वाचन क्षेत्र नं–३ मा चुनावी चहलपहल बढ्दै गएको छ। सडक छेउका चिया पसलदेखि खेत–खलियान र टोल–टोलमा चुनावी चर्चा भइरहेको छ।

झापा–३ मा १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा एक लाख ४० हजार ८५७ मतदाता रहेका छन्। यस क्षेत्रका लागि ६७ मतदानस्थल र १६४ मतदान केन्द्र तोकिएका छन्। झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका–१ देखि ८, बिर्तामोड नगरपालिका–१०, हल्दीबारी, कचनकवल र बाह्रदशी गाउँपालिका पर्दछन्।

यसपटक नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) का हरिबहादुर राजवंशी, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालका कर्णलाल राजवंशी, जनमत पार्टीका हरसलाल राजवंशी र नेकपा (माओवादी केन्द्र) का सन्तोष कटुवाल चुनावी प्रतिस्पर्धामा छन्।

त्यसैगरी उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीका विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीका जयेन मगर, श्रम संस्कृति पार्टीका दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीकी धर्मलक्ष्मी दुवाल, मङ्गोल नेशनल अर्गनाइजेसनका यामकुमार श्रेष्ठ तथा स्वतन्त्र उम्मेदवार अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला पनि चुनावी मैदानमा छन्।

निर्वाचन आयोगले फागुन ४ देखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको छ। सो अवधिमा सभा, जुलुस, घरदैलो, पोस्टर र पम्पलेट वितरण गर्न पाइनेछ। हाल उम्मेदवारलाई मतदाता र कार्यकर्तासँग भेटघाट गर्न अनुमति दिइएको छ।

उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। कांग्रेस उम्मेदवार राजेन्द्रकुमार घिमिरेले पार्टीले विभिन्न राजनीतिक व्यवस्थामा नागरिक अधिकार सुनिश्चित गर्न खेलेको भूमिकाका आधारमा मतदाताको विश्वास प्राप्त हुने बताएका छन्।

एमाले उम्मेदवार हरिबहादुर राजवंशीले झापा–३ विकासमा पछाडि परेको उल्लेख गर्दै अब एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्। स्वतन्त्र उम्मेदवार मानप्रकाश सङ्ग्रौलाले संसद्मा किसानको वास्तविक प्रतिनिधित्व नभएकाले आफू किसानको आवाज बनेर संसद् प्रवेश गर्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले सुशासन र स्थिरताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।