काठमाडौँ। नेपालमा दूरसञ्चार क्षेत्रमा अग्रणी कम्पनी एनसेलले आफ्नो डेटा गोपनीयता र सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता आइएसओ २७००१:२०२२ (ISMS) र आइएसओ २७७०१:२०१९ (PIMS) लाई पुन: नवीकरण गराएको छ।
गत वर्ष नेपालमा पहिलो पटक सूचना सुरक्षा तथा गोपनीयता व्यवस्थापन सम्बन्धी यी मान्यताहरू प्राप्त गरेको एनसेलले, पुन: मान्यता नवीकरणको प्रक्रियाअन्तर्गत ISO द्वारा तोकिएको अडिटरमार्फत कम्पनीभित्र सर्भेलेन्स अडिट गराएको थियो। मूल्यांकनका आधारमा कम्पनीका सूचना सुरक्षा उपाय र डेटा गोपनीयता अभ्यासहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको पुष्टि भएको कम्पनीले जनाएको छ।
नवीकरण भएका यी मान्यताहरू आगामी एक वर्षसम्म लागू रहनेछन् र यसअन्तर्गत ग्राहक डेटा सेन्टर, ग्राहक सेवा, आईटी सर्भिसेज लगायतका प्रणालीहरू समेटिएका छन्। कम्पनीका प्रतिनिधिले यसले ग्राहकहरूको व्यक्तिगत र संवेदनशील जानकारी सुरक्षित रहने सुनिश्चित गर्ने विश्वास दिलाएका छन्।
एनसेलका प्रणालीहरू साइबर जोखिम र अवैध पहुँचबाट जोगाउन सशक्त सुरक्षा उपायहरू अपनाइरहेको र डेटा व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहि प्रक्रिया कायम राखेको बताइएको छ। यसले ग्राहकहरूको विश्वासलाई थप मजबूत बनाउनेछ र व्यवसाय सञ्चालनमा उच्चतम स्तरको सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको जनाइएको छ।







