काठमाडौं। सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र अपशब्द प्रयोग गरेको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, पौडेलले महान्यायाधिवक्ताको कार्यालय र कार्यालयसँग सम्बन्धित व्यक्तिहरूको बारेमा नकारात्मक, अपशब्दयुक्त र गालीगलौज हुने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते प्रहरीलाई पत्र पठाउँदै, यस्तो गतिविधि सम्बन्धमा कानुनी कारबाही गर्न अनुरोध गरेको थियो। पत्र प्राप्त भएलगत्तै पौडेलले भिडियो बनाएर पुनः तथ्यहीन र नकारात्मक सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पौडेललाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको अनुसन्धान म्याद थप गरिएको छ। प्रहरी यस विषयमा थप अनुसन्धान गर्दैछ।