काठमाडौं।आगामी २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्रको छपाइ कार्य पूरा भएको छ। निर्वाचन आयोगले समानुपातिक मतपत्र तयार भएपछि अब प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ कुल २ करोड ८ लाखभन्दा बढी मतपत्र छापिएको छ। त्यस्तै, प्रत्यक्ष निर्वाचनका लागि आवश्यक २ करोडभन्दा बढी मतपत्रको छपाइ आजदेखि सुरु गरिएको र करिब १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
निर्वाचन आयोगले मतपत्रसहित अन्य आवश्यक सामग्री समयमै मतदान स्थलसम्म पुर्याउने तयारी गरिरहेको छ। आयोगका अनुसार फागुन ५ गतेअघि नै सबै सम्बन्धित स्थानमा मतपत्र वितरण गर्ने गरी व्यवस्थापन मिलाइएको छ।







