मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मनाङमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले आआफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् ।

उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाले उम्मेदवारी फिर्ता लिएका हुन् । अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ ।

कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ । सांसदमा चुनाव जिते पनि अदालतमा मुद्दा भएकाले टेकबहादुर संसद् प्रवेश गर्न पाउने छैनन् ।

ADVERTISEMENT

मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । कांग्रेसले प्रदेश सभा सदस्य भने एमालेलाई दिने भएको छ ।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ देखि ३ बजेसम्म देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।