काठमाडौं। नेपाल र भारतबीच निकासी गरिने वस्तु गन्तव्यमा आइपुग्नु अगावै सम्बन्धित सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ। भारतको नयाँदिल्लीमा आज आयोजित एक औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) का अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरे।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार मुलुकबीच जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने व्यवस्था रहँदै आएको छ। सोही अभ्यासलाई आत्मसात् गर्दै नेपाल र भारतबीच निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने उद्देश्यले भारतको सीबीआईसी र नेपालको भन्सार विभागको सहकार्यमा समझदारीपत्रको मस्यौदा तयार गरिएको थियो। उक्त मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिइएको समझदारीपत्रलाई नेपाल सरकार (मन्त्रिपरिषद्) ले स्वीकृत गर्दै भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो।
समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण तथा व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय घटाउने, सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासीसम्बन्धी तथ्याङ्क आदानप्रदान गर्ने व्यवस्था गरिएको छ। साथै, आदानप्रदान गरिने सूचनाको प्रयोग समझदारीपत्रमा उल्लेखित प्रयोजनका लागि मात्र गर्ने, कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने तथा दुवै पक्षको सहमतिमा तोकिएका वस्तुमा नमूनाका रूपमा लागू गरी क्रमशः सबै वस्तुमा विस्तार गर्ने प्रावधान राखिएको छ।
समझदारीपत्र कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा कूटनीतिक माध्यमबाट आपसी सहमतिमा समाधान गर्ने तथा आपसी समझदारीमा आवश्यक संशोधन गर्न सकिने व्यवस्था पनि समावेश गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए।
उक्त अवसरमा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम आयोजना गरेकोमा भारतीय पक्षप्रति धन्यवाद व्यक्त गर्दै यसलाई यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। उनले निकासी पूर्व तथ्याङ्क आदानप्रदानले जोखिम विश्लेषण सुदृढ हुने, जोखिमयुक्त वस्तुको निगरानी तथा नियमन प्रभावकारी बन्ने र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गर्दै भन्सार जाँचपास प्रक्रिया छिटोछरितो र सहज बनाउन सहयोग पुग्ने बताए।
त्यसैगरी, सीबीआईसीका अध्यक्ष विवेक चतुर्वेदीले नेपालसँग यस्तो महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुनु खुसीको विषय भएको उल्लेख गर्दै यसको शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि भारत सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।






