काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्यसम्बन्धी समस्या वा आवश्यक जानकारी तथा सहयोगका लागि १११५ मा फोन गर्न अनुरोध गरेको हो।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीका कारण व्यापक क्षति भएको छ। बाढी भोटेकोशी नदीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्।
बाढीका कारण बस्ती तथा बजार क्षेत्रसँगै प्रहरी कार्यालय, सडक र जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्ने भएकाले आवश्यक परे मन्त्रालयको निःशुल्क हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको हो।






