काठमाडौं। नेपाली कांग्रेसका सह–महामन्त्री उदय शम्शेर राणा ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट पार्टीका तर्फबाट उम्मेदवारका रूपमा अगाडि बढेका छन्। लामो समयदेखि लोकतन्त्र, सुशासन र पार्टीभित्रको संस्थागत सुधारका पक्षधर राणाको उम्मेदवारीलाई कांग्रेसभित्रको सुधारवादी धारको निरन्तरताका रूपमा हेरिएको छ।

हालै नेपाली कांग्रेसले आयोजना गरेको विशेष आन्तरिक निर्वाचन (महाधिवेशन) का क्रममा राणाले पार्टीभित्र स्पष्ट राजनीतिक धार प्रस्तुत गर्दै गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको सुधारवादी समूहलाई समर्थन गरेका थिए। उनले परम्परागत नेतृत्व शैलीको आलोचना गर्दै पार्टी सभापति शेरबहादुर देउबा नेतृत्वको समूहबाट अलग हुने निर्णय गरेका थिए।


राणाले गगन थापा–विश्वप्रकाश शर्मा टिमको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै गगन कुमार थापालाई सभापति बनाउने अभियानमा महत्वपूर्ण योगदान दिएका थिए। पार्टीभित्र पुस्तान्तरण, आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याउँदै उनले कांग्रेसलाई नीतिमा आधारित, जनमुखी र संस्थागत रूपमा बलियो बनाउने अभियानमा अग्रसरता देखाएका थिए। यही भूमिकाको परिणामस्वरूप उनी नेपाली कांग्रेसको सह–महामन्त्रीमा निर्वाचित भएका हुन्।

राजनीतिक विश्लेषकहरूका अनुसार राणाजस्ता अनुभवी नेताको सुधारवादी समूहप्रतिको समर्थनले कांग्रेसभित्र युवा नेतृत्वप्रति बढ्दो विश्वास र परिवर्तनको चाहनालाई संकेत गरेको छ।परिपक्क उमेर र युवा पुस्ताबीच सेतुको भूमिका खेल्दै उनले पार्टीभित्र वैचारिक बहसलाई थप सशक्त बनाएको मूल्यांकन गरिएको छ।

ललितपुर–१ बाटको उम्मेदवारीसँगै राणाले सुशासन, संवैधानिक अभ्यास, विधिको शासन र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने संकेत दिएका छन्। पूर्व प्रतिनिधिसभा सदस्यसमेत रहेका राणा संसदीय अभ्यास, पार्टी संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिक बहसमा प्रभावशाली नेताका रूपमा परिचित छन्।

देउबा पक्षमा रहँदा लामो समयसम्म ओझेलमा परेका परिपक्व नेताका रूपमा चिनिएका राणाले यस निर्वाचनपछि मन्त्रीको जिम्मेवारी सम्हाल्दै ललितपुर क्षेत्र नम्बर–१ को विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।