काठमाडौं।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंक ले डिजिटल कारोबार प्रबर्द्धन, ग्राहक सुविधा अभिवृद्धि र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने भएको छ। बैंकले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रबर्द्धन महिनाको रूपमा मनाउने निर्णय बमोजिम यो महोत्सव सुरु गरेको हो।

बैंकका अनुसार दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सा औसतमा ८० प्रतिशत बढी रहेको छ। यस वृद्धि क्रमलाई अझ प्रोत्साहित गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ। विशेषत: मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत मुद्धती खाता खोल्दा ग्राहकले बैंकको नियमित ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्न सक्नेछन्।

साथै, महोत्सवलाई अझ उत्साहजनक बनाउन भर्चुअल र साधारण क्रेडिट कार्ड जारी गर्दा वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी गर्दा र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गरिनेछ। ग्राहकहरुले मोबाइल एप मार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यासब्याक प्राप्त गर्नेछन्। साथै, अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको जानकारी दिने “कोइली” सेवा शुल्कमुक्त उपलब्ध हुनेछ।

यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ। बैंकले यसमार्फत डिजिटल सेवाको पहुँच बढाउन, प्रत्यक्ष बैंक भ्रमण कम गर्न र नगद कारोबार घटाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” को नारासहित देशभर १०३ शाखा र करिब ८ लाख ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपे मार्फत QR कोड स्क्यान गरी भुक्तानी गर्ने सुविधा पनि उपलब्ध गराएको छ।