काठमाडौं । कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएका छन् । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ ।
गगन–विश्वले वार्ताका लागि पठाएका आठ बुँदामा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने, निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने छन् ।
पछिल्लो पटक पठाइएको प्रस्तावमा देउवा सक्रिय नहुने भन्नेवित्तिकै उनी चुनावमा उठ्ने छैनन् । देउवाको हस्ताक्षरको साटो कार्यबाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरले टिकट वितरण हुनेछ । पाँच सदस्यीय हाइकमान्डमा कार्यबाहक सभापति खड्का, दुई महामन्त्री र डा.शेखर कोइरालासहित अर्का एकजना नेता हुनेछन् । आगामी चुनावमा कांग्रेस प्रधानमन्त्रीकाे उम्मेदवार अहिले नै घाेषणा गरेर जानुपर्नेछ । त्याे उम्मेदवार गगन थापा हुनेछन् ।
यदि यो प्रस्ताव संस्थापन पक्षले मानेमा कांग्रेसको दोस्रो विशेष महाधिवेशन नीति मात्र पारित गरेर नेतृत्व चयन नगरी सकिनेछ । कांग्रेस सग्लै रहनेछ ।








