काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको भेटवार्ता कुनै ठोस निष्कर्षमा नपुगी सकिएको छ। देउवा निवासमा बुधबार बिहान भएको छलफल करिब ४५ मिनेट चलेको थियो।

यसअघि पार्टीभित्र विशेष महाधिवेशन र निर्वाचन प्रक्रियालाई लिएर भएका वार्ताहरू सफल हुन नसकेपछि सभापति देउवाले महामन्त्रीद्वयलाई पुनः संवादका लागि बोलाएका थिए। तर यसपटकको छलफलले पनि सहमतिको बाटो खोल्न सकेन।

ADVERTISEMENT

छलफलका क्रममा महामन्त्रीहरूले देउवासँग पार्टीभित्र सक्रिय भूमिका निर्वाह नगर्न आग्रह गरेका थिए। उनीहरूले भूमिका बाट बाहिर रहँदा देउवाको सम्मान बढेको उल्लेख गर्दै फेरि सक्रिय हुँदा त्यो सम्मानमा असर पर्न सक्ने तर्क राखेका थिए। तर उक्त आग्रहप्रति सभापति देउवाले कुनै स्पष्ट प्रतिक्रिया नदिएको महामन्त्रीहरू निकट स्रोतले जनाएको छ।

सभापतिसँगको छलफलबाट कुनै ठोस निर्णय नआएपछि महामन्त्रीद्वय निर्वाचन समितिलाई जानकारी गराई पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा रहेको बुझिएको छ। यससँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुने सम्भावना कमजोर देखिए संगै निर्वाचनमा जाने पक्कापक्की भएको छ। 

ADVERTISEMENT