काठमाडौं । पार्टी रुपान्तरणको मागमा संस्थापन पक्ष लचक नदेखिएपछि नेपाली कांग्रेस गम्भीर राजनीतिक मोडमा पुगेको छ । बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूको आह्वानमा भइरहेको विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेसँगै कांग्रेस अब विभाजनको संघारमा उभिएको देखिएको छ ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीको संरचनात्मक सुधार तथा राजनीतिक रूपान्तरणसम्बन्धी प्रस्ताव मंगलबार साँझ पारित गरिएको छ । प्रस्ताव पारित भएसँगै महामन्त्री थापाले आफूहरू विद्रोही धारमा उभिएको स्पष्ट सन्देश देशभर लैजाने घोषणा गरेका छन् ।

ADVERTISEMENT

थापाले अब पार्टीका कुनै पनि निर्णय महाधिवेशन हल बाहिर नहुने स्पष्ट पार्दै, बाहिर चलिरहेका सहमतिको प्रयास निष्कर्षमा पुग्न झनै जटिल बन्दै गएको संकेत गरेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै पार्टीमा नयाँ ऊर्जा भित्रिने दाबी गरेका छन् ।

ADVERTISEMENT

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा मंगलबार दिउँसोदेखि नै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । विभिन्न पदका लागि इच्छुक नेताहरूले उम्मेदवारी फारम लिन थालेका छन् । यस्तो अवस्थामा महामन्त्री थापाले यो विशेष परिस्थितिमा आयोजना गरिएको विद्रोही महाधिवेशन भएकाले नेतृत्व आकांक्षीहरूलाई उदार बन्न आग्रह गरेका छन् ।

उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने, “यो छोटो समयका लागि जिम्मेवारी सम्हाल्ने नेतृत्व हो । यसपछि नियमित महाधिवेशन हुन्छ । अहिले पदको प्रतिस्पर्धाभन्दा अभियान र आन्दोलनको मर्म बुझ्नु जरुरी छ ।”

यसअघि सोमबारदेखि नै संस्थापन पक्षसँग सहमतिका लागि निरन्तर संवादको प्रयास भएको थियो । मंगलबार दिनभर संस्थापन पक्ष, शेखर कोइराला समूह र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भए पनि संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरले राखेका प्रस्तावमा सहमति जनाएन ।

विशेष महाधिवेशन पक्षधरले पार्टी सुधारका प्रस्ताव पारित गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले पद छोड्नुपर्ने र महाधिवेशनलाई औपचारिक रूपमा स्वामित्व लिनुपर्ने माग अघि सारेका थिए । तर संस्थापन पक्षले विशेष महाधिवेशनलाई नै अवैधानिक ठहर गर्दै ती माग अस्वीकार गरेको छ ।

यसैबीच कांग्रेसले मंगलबार दिउँसोका लागि बोलाएको केन्द्रीय समिति बैठक संस्थापन पक्षकै अनिर्णयका कारण स्थगित भयो । साँझ छोटो बैठक बसेर बुधबार बिहानका लागि सारिएको छ । उता विशेष महाधिवेशन पक्षधरले संवादको ढोका पूर्ण रूपमा बन्द नगरे पनि, वार्ता केवल महाधिवेशन अल्झाउने रणनीतिमा सीमित देखिएपछि आफ्नो प्रक्रिया रोकेको छैन ।

मंगलबार महाधिवेशनस्थलमा वार्ताको नाममा ढिलाइ नगर्न माग गर्दै प्रतिनिधि र समर्थकहरूले नाराबाजीसमेत गरेका थिए । यसले विशेष महाधिवेशनलाई अब नीति र नेतृत्व दुवै विषयमा निर्णय नगरी नहुने अवस्थासम्म पुर्‍याएको छ । नीति सम्बन्धी प्रस्तावहरू पारित भइसकेकाले अब नेतृत्व चयन बुधबार टुंगिने तयारी छ ।

 

यद्यपि, रातारात संस्थापन पक्षले कुनै स्वीकार्य प्रस्ताव ल्याएर संकट टार्न सक्ने झिनो सम्भावना बाँकी छ । तर विभाजनको रेखा प्रस्ट भइसकेकाले सामान्य सहमतिले परिस्थिति रोक्ने अवस्था देखिँदैन ।

विशेष महाधिवेशनले चाल्ने आगामी कदमका आधारमा आयोजक नेताहरूमाथि कारबाही गर्ने रणनीतिमा संस्थापन पक्ष रहेको बताइन्छ । पार्टी कार्यालयमा पुगेका संस्थापन निकट नेताहरूले गगन थापा लगायतका नेताहरूमाथि कारबाहीको निर्णय हुन सक्ने संकेत गरेका छन् । यदि आज रातिसम्म सहमति नजुटे, बुधबार बस्ने केन्द्रीय समिति बैठकले त्यसबारे ठोस निर्णय लिन सक्ने सम्भावना देखिन्छ ।