काठमाडौं। नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ र नयाँ समूहका सहभागीलाई स्वागत गरेको छ। बैंकले सोमबार बिहान आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिप: जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौं समूहका सहभागीलाई बिदाइ गर्दै छैटौं समूहका २० सहभागीलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

कार्यक्रममा ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्क केसीले प्रमाणपत्र वितरण गरेका थिए। सोही अवसरमा सहभागी सामाजिक उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनी पनि गरिएको थियो।

अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरुलाई उद्यमशीलताको माध्यमबाट नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कार्यक्रमका प्रशिक्षार्थीहरूले हालसम्म १७ हजार रोजगारी सृजना गरिसकेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक रहेको बताए।

प्रमुख अतिथी रेक्टर डा. खड्क केसीले नबिल बैंकको यो पहल समाजका लागि उदाहरणीय भएको भन्दै त्रिभुवन विश्वविद्यालयले सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त बनाउन तयार रहेको उल्लेख गरे।

सञ्चालक निर्वाण कुमार चौधरीले पाँच वर्षअघि सुरु भएको कार्यक्रमका सहभागीलाई बधाई दिँदै करिब २०० उद्यम स्थापना र १७ हजारभन्दा बढी रोजगारी सृजना भएको जानकारी दिए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो स्वागत मन्तव्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको र यसबाट देश विकासमा योगदान पुगिरहेको बताए।

नबिल एसएसई कार्यक्रम अन्तर्गत सहभागीले छ महिनासम्म आवासीय र व्यवहारिक प्रशिक्षण पाउँछन्, मेन्टरको व्यवस्था हुन्छ र कार्यक्रमले सञ्जाल विस्तारमा पनि सहयोग पुर्‍याउँछ। हालसम्म ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् र उनीहरूले ६२ उद्यम सञ्चालन गरी १४ हजार ५ सयभन्दा बढी रोजगारी सृजना गरेका छन्।

त्यसैगरी, नबिल बैंकले मुलुकभरका १० वटा शैक्षिक संस्थामार्फत् एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ, जसबाट १,०६९ जना लाभान्वित भएका छन् र उनीहरूले १३१ उद्यम सञ्चालन गरी २,५०० भन्दा बढी रोजगारी सिर्जना गरेका छन्।

नबिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको छ र नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ।