काठमाडौँ। नेपाली कांग्रेसका शीर्ष नेताहरूले अहिले प्रस्तावित विशेष महाधिवेशनको कुनै सान्दर्भिकता नरहेको बताएका छन् । पार्टीभित्र बढ्दो मतभेदका बीच उनीहरूले एकता, संवाद र सहमतिमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन आवश्यक नभएको निष्कर्ष निकालेको जानकारी दिए । उनले अहिलेको प्राथमिकता मुलुकलाई स्थिरता दिने निर्वाचन भएको बताए ।
“पार्टी स्थापित मान्यता र विधिअनुसार अघि बढ्ने विषयमा छलफल भएको छ,” कार्कीले भने, “केन्द्रीय कार्यसम्पादन समितिले अहिले विशेष महाधिवेशनको सान्दर्भिकता छैन भनेको छ । निर्वाचनपछि वैशाखमा तय भएको नियमित महाधिवेशन हुन्छ ।”
कार्कीले पार्टीभित्र सहमति, संवाद र एकताको ढोका सधैँ खुला रहेको उल्लेख गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्पूर्ण नेता तथा प्रतिनिधिलाई एकताका लागि अपिल जारी गरिसकेको बताए ।
यसैबीच, सहमहामन्त्री महेन्द्र यादवले पनि देउवा निवासमा भएको छलफलमा पार्टी एकताका लागि आह्वान गरिएको र निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्ने विषयमा सहमति खोजिएको बताए ।
पार्टीमा इतर पक्षका नेताहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् । सभापति देउवाले सोमबार आफ्ना निकट केन्द्रीय सदस्यहरूसँग छलफल तीव्र पारेका छन् । महाराजगञ्जस्थित देउवा निवासमा कार्यवाहक सभापति खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहन बस्नेत, बद्री पाण्डेलगायत नेताहरू सहभागी छन् । शेखर कोइराला र शशांक कोइराला भने बैठकबाट बाहिरिएका थिए ।
नेता शशांक कोइरालाले पार्टी कुनै पनि हालतमा विभाजन नहुने स्पष्ट पारे । देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “मिल्नका लागि प्रयास हुँदैछ । पार्टी ब्रेक गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो ।”
यता, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको खतरा बढेको भन्दै सभापति देउवालाई तत्काल संवादमार्फत समस्या समाधान गर्न सुझाव दिएका छन् । सोमबार देउवा निवास पुगेर उनले असन्तुष्ट नेताहरूमाथि कारबाही नगर्न र पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका हुन् ।
करिब ४५ मिनेटको छलफलमा कोइरालाले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरु घिमिरेलगायत नेताहरूलाई पार्टीको मूलधारमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । “पार्टी फुटतिर जाँदैछ, यसलाई जोगाउने जिम्मेवारी सभापतिको हो,” बैठकमा सहभागी एक नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने ।
जवाफमा सभापति देउवाले आफू पनि पार्टी विभाजनको विपक्षमा रहेको र समस्या समाधानका लागि लचक हुन तयार रहेको बताएका छन् । देउवानिकट स्रोतका अनुसार तत्काल कारबाही गर्ने मनस्थितिमा उनी छैनन् ।








